मोहिनी एकादशी व्रत/अन्तर्राष्ट्रिय श्रमिक दिवस

मोहिनी एकादशी किन भनिन्छ ?
वैशाख महिनाको शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महत्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ भन्ने विश्वास छ । सांसारिक मोहबाट छुटकारा पाइन्छ मान्यताअनुरूप यो वसन्त ऋतुको एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।
मोहिनी एकादशीको महत्त्व
वर्षका अन्य सबै एकादशीहरू झैँ मोहिनी एकादशीको पनि अलग महत्त्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी हुने मान्यता छ ।
अन्य एकादशीहरू झैँ यो एकादशीमा पनि बिहानै नुहाई–धुवार्इँ गरेर भगवान् विष्णुको अर्चना र पूजा गर्ने चलन छ । विष्णु सहस्त्रानाम पाठदेखि हरि कीर्तनसम्म गर्ने, एकादशी महत्मयको वाचन गर्ने अनि राति जाग्राम बस्नेसम्म चलन हुन्छ ।
मोहिनी एकादशीको व्रत कथा
किंवदन्ती अनुसार, सरस्वती किनारमा एउटा राज्य थियो, जसमा एक जना चन्द्रवंशी राजा राज्य गर्थे । यसै राज्यमा एक जना वैश्य अर्थात् व्यापारी बस्थे, जसको नाम थियो धन पाल । उनी पुण्य–कार्य अनि दानमा लागिपरेकै हुन्थे । धन पालका ५ छोराहरू थिए, जसमा कान्छो छोरा पाप कर्ममा लागेका थिए । जुवा तास अनि वेश्या गमनमा उनी आशक्त थिए भने दुर्व्यसनमा उत्तिकै लालायित पनि ।
धन पालले केही नलागेपछि आफ्नो मनमा पत्थर राखेरै भए पनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घर निकाला गर्न पुगे । भोजन र छतको अभावमा धन पालका कान्छा छोरा महर्षि कौडिन्य कहाँ पुग्छन् । महर्षि कौडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धन पालका कान्छा पुत्रले आफ्ना आशक्तिबाट मुक्ति पाएको विश्वास गरिन्छ ।
यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिबाट मुक्त हुने भएकाले यो एकादशी विशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्सङको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइदियोस्, शुभकामना ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस

इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोत्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आउँदछ । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि श्रमसँग सम्बन्धी तत्त्वहरूको सान्ध्यताका साथ मनाइन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्युबा र पूर्व सोभियत युनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रूपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रिक रूपमा अझ महत्त्व र उत्कर्षका साथ देख्न जरुरी छ ।
१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल









:max_bytes(150)/https://lh4.googleusercontent.com/-whMPWpWXaOo/AAAAAAAAAAI/AAAAAAAAAAA/AAKWJJP5g8YIeb7ASpX9y3ZQ9HcTsYa7xg/s96-c/photo.jpg)
:max_bytes(150)/https://lh3.googleusercontent.com/-sT86kmqW5U8/AAAAAAAAAAI/AAAAAAAAAAA/ACHi3rfn4fMZU1V29_tWA1TGULxVIjAxGA/s96-c/photo.jpg)