गोरखकाली पूजा / विश्व कुष्ठरोग दिवस
माघ शुक्ल सप्तमी
माघ शुक्ल सप्तमी

विश्व कुष्ठरोग दिवस
विशेष अडियो सामग्री
सुन सुन दिदी–बहिनी
सुन दाजुभाई
देउता लाग्या नठान है, कुष्ठरोगलाई
कुष्ठरोग लागेपछि लुकाउनु चाहिँ हुन्न
निको हुन्छ ओखतीले, भाकलले छुन्न
नबिराई गरेपछि ओखती मूलो
कुष्ठरोग भन्ने कुरो अब छैन ठूलो, ल है
कुष्ठरोगका अनेकन सामाजिक आयाम हुन्छ भन्ने माथिको पंक्तिले स्पष्ट पार्छ । रेडियो नेपाल र नेपाल टिभीबाट महसञ्चारले उत्पादन गरेको यो भिडियो-अडियो सुनेर हुर्किएको पुस्ता र भोगेको पुस्ता अझै पनि छौं ।

‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने भ्रम
‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने र यो रोग लागेकाहरु अक्षम्य पापी हुन् भन्ने जस्ता अनेकन अपमानजनक भ्रम समाजमा व्याप्त छ । समाजका अन्तर–कुन्तरमा यो ‘महापाप’ भन्ने जस्ता परम्परागत मान्यता छन् ।
मध्यकालमा लेखिएका केही पौराणिक कथा–किंवदन्ती र स्मृतिहरुका आधारमा भ्रमजन्य मान्यता समाजमा पायो । शदियौंदेखि नेपाली समाजमा कुष्ठरोगलाई श्राप र पापका रुपमा लियो । कुष्ठ रोगीहरुलाई बारीको कुनामा बाँधेर राखिएको घटनाहरु पनि हामीले सुन्यौ । कुष्ठरोगले शरीरका भागहरु फतक्क गलेपछि शरीर कुहिएर प्राण त्याग्नेहरुको विभत्स दृश्य देख्यौ । त्यस्ता कथाहरु अझै पनि समाजमा सुनिन्छन् ।
कुष्ठरोगको त्यो पीडापछि नेपाली समाजले त्यो रोगलाई असमान्य रुपमा हेरेको हो । अथवा, अझै पनि पुराना पुस्ताका मानिसहरु कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्छन् । उतिबेला यो रोगको औषधि–उपचार हुँदैनथ्यो । अब त नियमित औषधि प्रयोगबाट यो रोग निको पार्न सकिन्छ ।
कुष्ठरोग को पृष्ठभूमि
कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।
यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो । यो रोगप्रति नकारात्मक सोचाई कारण रोगीहरु सामाजिक बहिस्कारमा पर्ने गरेका थिए ।
पछिल्ला दिनमा कुष्ठ रोगीहरु प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसँगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगकाविरुद्ध प्रभावकारी अभियान संचालन गर्न नसकिने बुझाई पनि छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।

अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ ।कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।
यो एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय संक्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन ।
कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्यार्इँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।
कुष्ठरोगका यी दुईवटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्याइन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरु हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी हुन्छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन ।
नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरुले सामाजिक तथा पारिवारिक ग्लानी महसूस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आइरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।
मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसूस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मूल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।


गोरखकाली पूजा
विशेष अडियो सामग्री
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ। गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –

देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।