तिमीले एकदिन कुरै कुरामा भनेको थियौ नि
म राम्रोसँग चिन्छु तिमीलाई।
मलाई पनि चिनाइदेऊन मसँग,
मलाई नि म चिन्न मन छ।
धेरै प्रयास गरेँ आफैंलाई चिन्न तर सकिनँ।
भित्तामा टाँगेको ऐनालाई हेरेर सोधे..
" को हौ तिमि? के हौ तिमी?"
जवाफ नै दिएन त्यसले...
सायद तिमीले जति चिन्दैन होला मलाई।
दिनमा देखिने यी ओठको मुस्कानलाई सोधेँ,
साँझमा बग्ने यी आँखाको आँशुलाई सोधेँ।
तिमीहरू त चिनाइदेऊ न मलाई मसँग...
यति सुल्झिएको छु र म कसैले फुकाउनै नसक्ने गरी।
बितेको समयमा राखेर हेरेँ आफैंलाई,
वर्तमानमा खोजिरहेको छु।
अब भविष्यको प्रतिक्षामा छु...
आफैंलाई आफूसँग परिचित गराउनलाई।
तिमीले त चिनेको छु भनेथ्यौ मलाई,
कसरी चिन्यौ?
मैले किन जवाफ भेटिनँ कतै?
मलाई पनि चिनाइदेऊ न मसँग,
मलाई पनि म चिन्न मन छ।
Liked by: