Suyog Dhakal · May ३१, २०१७
औँलाको कापमा समेत पहेँलो दाग बस्ने गरी धूम्रपान गर्ने देखि दिनमा आधा अनि एउटासम्म मात्र खान्छौ भनेर नाक फुलाउने हामीमध्य धेरै छौ । हामीमध्य धेरैले धूम्रपान छाडेका पनि छैनो होला भने कतिपयले खाएर पनि छाडिसकेका हुन सक्छौ । जे होस् हरेक वर्ष मे ३१ मा संसारभरि धूम्रपान विरुद्धको दिवस मनाउँदै गरिदा हाम्रो पात्रो यहाँहरुलाई धूम्रपान छाड्ने यस्ता ५ वटा व्यवहारीक उपायहरु प्रस्तुत गर्दैछ जुन हामीसबैका लागी अत्यन्त उपयोगी हुनसक्छ । आफूले धूम्रपान गर्नुहुन्छ भने मनन गरौ नत्र धूम्रपान गर्नेहरुसम्म यो लेख पुर्याउन सहयोग गरौ । याद राखौँ धूम्रपानले हिरो हैन जिरो बनाउँछ ।
यो पनि हेर्नुहोस् : विश्व धुम्रपान रहित दिवस्
धूम्रपान छाड्न हामीले दिन तोक्छौ अनि केही दिन खाँदैनौ तर पछि निर्णयमा अडिग रहन नसकेर हामी चिप्लन्छौ । आउनुहोस यसै परिपेक्ष्यमा धूम्रपान छाड्ने कुरा गरौ है ।
तरीकाहरु
१ः धूम्रपानको साटो कुनै मुखमा हाल्ने प्रतिस्थापक खानेकुरा छानौ 
धूम्रपानले तलतल हुन्छ, अझ खाना खाएपछि या राती सुत्ने बेलामा यो तलतल बढेर जान्छ र त्यतिबेला आफ्नो चाहनामाथी काबु पाउन सक्नुनै हाम्रो धूम्रपान छाड्ने निर्णयको प्रथम जीतको खुड्किलो हो ।
प्रतिस्थापक बस्तु भन्नाले धूम्रपान छाडेपछि निकोटिनको तलतल मेटाउने अरु कुराहरुजस्तै गुटखा, खैनी या अन्य परागका कुरा हामीले गरेका हैनौ । एउटा लत छाडेर अर्कोमा जानु झन नराम्रो हो । यसरी तलतल लाग्दा मुख चलाउन, मुखका माशंपेशीलाई थम्थम्याउन अनि दिमागलाई व्यस्त राख्न चपाउने कुराहरु जस्तै सुपारी, नरीवलका टुक्राहरु, ल्वागं, सुकमेल, चीवीगं गम, चकलेट आदि थुप्रै कुराहरु खल्तीमा राखेर तलतल लाग्दा खाने बानी गरेमा सुस्तरी धूम्रपानको तीर्सना कम हुँदै जान्छ । सादा पान, चिसो पानी र विभिन्न प्रकारका माउथ फ्रेशनरको प्रयोग पनि गर्न सकिन्छ ।
२ः दिमाग र हातलाई व्यस्त राख्नुहोस् 
तलतल लागेका बेला दिमाग र हात दुबैलाई सकसक लागिरहेको हुन्छ, दिमागलाई निकोटिनको नशा अनि हातलाई खल्तीवाट सिगरेट झिक्न, आगो सल्काउन तलतल लागीरहेको हुन्छ ।
हातहातमा मोबाईल भएको आजको युगमा विभिन्न गेम खेलेर, ईन्टरनेटमा अन्य विभिन्न कुराहरु हेरेर दिमागलाई ब्यस्त राख्न सकिन्छ । नयाँ ठाँउ या नयाँ काम गर्ने, जस्तै पौडी खेल्न जाने, संगीतका उपकरणहरु बजाउन सिक्ने, गाउन सिक्ने जस्ता तत्कालै आनन्द आउने कुराहरु गर्ने गरेमा दिमाग धेरै हदसम्म ब्यस्त रहन्छ ।
हातमा केही खेलिरहन मिल्ने कुराहरु जस्तै सानो चेन या चुम्बक या पेपरवेट, किरिगं, मुलायम रुवाका केही सामानहरु जस्ता चलाउन मन लागीरहने कुराहरु हातमा राखेर तलतल मेटाउन सकिन्छ ।
३ः ब्रश गर्ने
अतिनै तलतल लागेको खण्डमा तुथपेस्ट हालेर ब्रशले हल्का दाँत मोल्न सकिन्छ । तुथपेष्टको चिसो मेन्थोलले मुखमा एउटा ताजगी ल्याँउछ । चिसो अनि फ्रेश भएपछि धरै हदसम्म तलतल मेटाउन सहज हुन्छ ।
४ः केही अरुनै कुराहरु बाल्ने 
सँधैजसो झ्याररर आगो बालेर चुरोट तानेको बानी हुन्छ, धूम्रपान गर्ने मान्छेहरुको । उनिहरुको तलतल बलेको आगोको आवाज, आगोको गन्ध र लाईटर या सलाईको उपलब्धतासँग पनि हुन्छ । यसअर्थमा लाईटर बालेर मैनबत्ती या अरु केही कुराहरु सल्काउने गरेमा पनि धेरैहदसम्म तलतल कम हुन्छ ।
५ः आफूले धूम्रपान छाडदैछु भनेर बारम्बार साथीभाई अनि अरुलाई सुनाउने 
बोलीनै शक्ति हो , जे कुरा बोलिन्छ र बारम्बार दोहोर्याउनाले त्यो कुरा विश्वाश भएर आँउछ । साथीभाइहरुलाई बारम्बार चुरोट छोड्छु भन्नाले भित्रबाट एकहिसाबले हामीलाई धूम्रपान विरुद्ध कटिवद्ध जनाँउन सहयोग गर्दछ । फेरि खाएमा साथीभाईले जिस्क्याँउछन भन्ने डरले पनि हामीलाई पूनः खान रोक्दछ ।
बरु घरमा पनि कहिँकतै कागजमा आफूले धूम्रपान छाडेरै मात्र अगाडि जाने निश्चयका कागजहरु लेखेर छाड्ने अनि डायरी लेख्ने बानी गर्नाले हाम्रो प्रतिवद्धता धेरै हुन्छ । यी सबैकुराहरु वास्तवमा मनोबलको कुरा हो, तसर्थ आफूलाई हानि गर्ने कुराहरु प्रति दृढ मनोबल र ईच्छाशक्तिका साथमा अगाडि बढौँ ।
तपार्इँ हामी सबैलाई धूम्रपान विरुद्धको समाज निर्माण गर्न आव्हान गर्दै आजलाई बिदा
सुयोग ढकाल
Oct 27, 2026
नेपाल संवत् ११४६ कौलागा पारू
कार्तिक कृष्ण प्रतिपदा
सिद्धि · कौलव · भरणी