सम्पदा के हो ?
कुनैपनि राष्ट्रको एतिहाषिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरूलाई सम्पदा भनिन्छ।
नेपालका चर्चित सम्पदाहरू कुन कुन हुन् ?
नेपालका चर्चित सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौँ दरवार क्षेत्र हुन् । हुन त नेपाल सम्पदाहरूको धनी देश हो । तर, युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका कारण यी १० सम्पदाहरू विश्वभरि नै चर्चित छन् ।
किन मनाइन्छ विश्व सम्पदा दिवस ?
विश्वभरि भएका महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउन, ति सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्वभरि यो दिवस मनाउन शुरु गरेको हो।
अहिले नेपालको सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि के कस्ता चुनौतीहरू छन् त ?
अहिले विकासको नाममा हाम्रो मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । हाम्रा देवताका मूर्ति अनि कलाहरु चोरी निकासी भएर विश्व बजारमा बेचिएका छन् । त्यसबाहेक, जीर्ण अवस्थामा रहेका हाम्रा कयौं सम्पदाहरूको सुधारका लागि पर्याप्त अनुदान न आउनु, या आएपनि कार्यान्वयन हुन नसक्नु जस्ता समस्याहरू अहिले हाम्रो सम्पदाको संरक्षणका मुख्य चुनौती हुन पुगेका छन् । सम्बन्धित निकायले यी चुनौतीहरूको यथाशीघ्र समाधान खोज्न जरूरी देखिएको छ ।
यस वर्षको विश्व सम्पदा दिवसको नारा के हो ?
सन् २०२५ को विश्व सम्पदा दिवसको नारा “"Heritage under Threat from Disasters and Conflicts: Preparedness and Learning from 60 years of ICOMOS Actions" अर्थात् यो विषयवस्तु अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद् (ICOMOS) को ६०औं वार्षिकोत्सवमा केन्द्रित छ र यसले विगतमा विपद् र द्वन्द्वबाट सांस्कृतिक सम्पदाको संरक्षणमा गरिएका प्रयासहरूलाई प्रकाश पार्दछ। यस दिवसले भविष्यमा सम्पदा संरक्षणका लागि आवश्यक कार्यहरू जस्तै पूर्वतयारी, जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, आपतकालीन प्रतिक्रिया तथा पुनःस्थापनाका उपायहरूमा विचार गर्न र प्रतिबिम्ब गर्न प्रेरित गर्दछ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: