ब्लग - साहित्यनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


नयाँ वर्ष २०८० प्रारम्भ | बिस्का: जात्रा | महावीर जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नव वर्ष २०८० सालको हार्दिक मङ्गलमय शुभकामना । हरेक नकारात्मक शक्तिहरूलाई २०७९ मै छाडेर सकारात्मक उत्साह र ऊर्जा लिएर अघि बढौँ । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना ।
यस वर्ष त नव वर्ष भन्दा पनि नव दशक नै सुरु भएको छ ।
७० को दशक वाट अब ८० को दशकमा पाइला टेक्दै छौँ । पछिल्लो दशकमा हामीले धेरै उतारचढाव अनि रुपान्तरणहरु देख्यौँ । चाहे भूकम्प होस् या संविधान, अनेक ग्रह गोचर, अनेक कल्पना भित्र र बाहिरका कुराहरू सहित यस दशकले बिदा मागेको छ ।
यहाँहरूको प्रिय मोबाइल सहयात्री हाम्रो पात्रो ले पनि यी दशकमा अनेक सुविधाहरू थपेको छ । मोबाइल वाटै डाक्टरहरूसँगको कुराकानी, ज्योतिष परामर्श देखि यस वर्ष देखि मोबाइल पे सिस्टम हाम्रो पे पनि बजारमा आएको छ ।
आउनुहोस्, आउँदो दशकमा पनि यस्तै प्रीतसँगै यात्रा गरिरहौँ ।
यहाँहरूले २०८० को तिथि मिति, चाडपर्व, शुभ साइत, सार्वजनिक बिदाहरू लगायतका सम्पूर्ण जानकारीहरू “हाम्रो पात्रो”मा पाउनुहुनेछ । आगामी वर्षहरू जस्तै यस वर्ष पनि हजुरहरूको अपार मायाको अपेक्षा राख्दछौँ ।

हरेक वर्ष वैशाख १ गते अर्थात् मेष संक्रान्ति पनि हो । १२ वटा राशिहरूका आधारमा १२ वटा महिना निर्धारण गरिएको छ । वैशाख अर्थात् प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात् १२ वटा मध्य प्रथम राशि मेष राशिको सङ्क्रान्ति । यस दिन विभिन्न परिकार पकाउने, खाने खुवाउने चलन हुन्छ ।
जिब्रो छेड्ने जात्रा
बोडेमा नीलबाराही क्षेत्र आसपासमा बस्ने मानिसहरूलाई भूतप्रेतले धेरै दुःख दिने गर्नाले तान्त्रिक विद्या अनुसार भीमदत्त नामक तान्त्रिकले दुःख दिने पिशाचलाई समातेर त्यसको जिब्रो छेडेर, बलेको महाद्वीप बोकाएर, बोडे घुमाएपछि त्यस क्षेत्र आसपासका मानिसहरूलाई पिशाचले दुख नदिने, रोग, अनिकाल, महाभूकम्प हुन नदिने बाचा गरेको थियो। त्यसपछि, ठिमीमा यो जात्रा मनाउने परम्परा चलेको हो ।
सिरुवा
चैत्र वैशाखमा हावाहुरी चल्ने र आगो लाग्ने सम्भावना धेरै हुने भएकाले पूर्वी तराइका मानिसहरूले आफ्नो घरको छत, बोट बिरुवा, तुलसी मठहरूमा शुद्ध जल चढाएर आफ्नो कुल देवताको पूजा गर्दै सिरुवा पर्व मनाउँछन् । यस दिन ठुला बडाले हातमा शुद्ध जल लिएर आफूभन्दा सानोको टाउकोमा छ्यापी शुद्ध सोच अनि सुस्वास्थ्यको आशीर्वाद स्वरूप जुडशीतल गर्ने गर्दछन्। सानोले भने ठुलोको खुट्टामा जल चढाएर आशीर्वाद लिने गर्दछन् । यो वर्षको पहिलो पर्व भएकाले थारु भाषामा यसलाई “सिरुवा” भनिएको हो । यस समुदायले मनाउने वर्षको अन्तिम पर्व भने “फगुवा” हो । जसलाई ‘फागु पूर्णिमा” होली पनि भनिन्छ ।
सिन्दूर जात्रा
सिन्दूर जात्रालाई बिस्का जात्राको एउटा अंशको रूपमा लिइन्छ । ठिमीमा ३२ खटका दिदीबहिनीको भेट भएको खुसीयालीमा मनाइने यो जात्रा साथीभाइसँग फुस्रो सिन्दूर लगाएर, विभिन्न देवताहरूलाई खटमा राखी बालकुमारी मन्दिर परिक्रमा गर्दै मनाइन्छ ।
बिस्का: जात्रा

बिस्का: को अर्थ “साप मर्यो” हो । किम्बदन्ती अनुसार भक्तपुरका एक प्रतापी राजाको छोरी अत्यन्तै सुन्दरी राजकुमारीको विवाहको पहिलो रातमै श्रीमानको मृत्यु हुन्थ्यो । हरेक बिहान राजकुमारीको शयन कक्षबाट राजकुमारको लास उठाइन्थ्यो । एक दिन एक साहसी राजकुमारले सबै थाहा पाएर पनि राजकुमारीसँग विवाह गरे । विवाहको राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुई वटा नाग नागिनी निस्केर अजिङ्गरको रूप धारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर ती नाग नागिनीलाई दुई टुक्रा पारिदिए । प्राण त्याग्नु अगाडि ती नागनागिनीहरूले आफ्नो लागि जात्रा चलाइदिनु हुन आग्रह गरे । भोलिपल्ट बिहान सधैँझैँ राजकुमारको लास लिन जाँदा राजकुमारलाई जीवित अनि नागनागिनलाई मरेको देखेर प्रतापी राजा खुसी भए । त्यस बेला देखी साप मरेको खुसीमा बिस्का: जात्रा मनाइन्छ । यो कथा भ्रम मात्र हो भन्ने तर्कहरू भने धेरैले गर्दै आएका छन् । यो जात्रा नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भएर नयाँ वर्षको पाँच दिन पछिसम्म मनाइन्छ ।
बिस्का: जात्रालाई किन बिस्केट भनिएको हो ?
बिस्का: यो जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । स्थानीय भाषामा यसलाई “द्य क्वहाँबिज्याइगु” पनि भनिन्छ । कहिले बिसिका, कहिले बिस्क त कहिले बिक्का, बिस्का: शब्द विस्तारै अपभ्रंशीत भएर बिस्केट हुन पुगेको हो ।
कसरी मनाइन्छ बिस्का: जात्रा ?
टौमढीस्थित न्यातपोल मन्दिर अघिल्तिर राखेर हरेक वर्ष चैत महिनामा भैरवनाथ र भद्रकालीको रथलाई तयार गरिन्छ । जात्राको पहिलो दिन पाँच तले मन्दिर प्राङ्गणबाट उक्त रथ क्वने र थनेका बासिन्दाले अगाडि र पछाडिबाट तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने गर्दछन् । यो तानातान जात्राको मुख्य आकर्षण हो । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ । चौथो दिन ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्ष गएर र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीर ध्वजा र विश्व ध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बिचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उठाएको हेर्नाले शत्रु नास हुन्छ भन्ने मान्यता छ त्यसैले यस जात्रालाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ । पाँचौँ दिन लिङ्गो ढालिन्छ । त्यसपछि, भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाउने गरिन्छ ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
हाम्रो पात्रोका लागि सुयोग ढकाल