बा
म अपराधी हुँ
तिम्रा खुशी मलाई कहिल्यै पचेन ।
तिमी खुशी भएको देख्दा
मलाई झनक्क रिस उठ्थ्यो ।
तिम्रो सुझाव सुनिरहँदा
मलाई दिक्क लाग्थ्यो ।
तिम्रो आँखाबाट आँसु झरेको देख्दा
मलाई मजाक लाग्थ्यो ।
दस नङ्ग्रा खियाई
स्वदेश मै रमाउँथ्यौ तिमी
तर मलाई रुखमा फल्ने डलर प्यारो लाग्थ्यो
त्यसको परिणाम बिदेसिएँ ।
आफ्नै खुशीमा रमाईरहेको म
एकरात सपनीमा यमराजलाई देखे
उनी भन्दै थिए,
'अरुको खुशी मारेर आफ्नो खुशी जीवित गर्ने अपराधी हुन् ।'
झट्ट आँखा खुल्यो
अनि तिमीलाई सम्झिन पुगेँ
अनि सम्झने लागेँ
मेरा अपराधहरु
सुन्दर सपनाको भोकलाई
जीवित गराउँदै गर्दा
तिम्रा महिनौदेखिको भोक
मारेको रहेछु ।
तिम्रा अदृश्य मौनतालाई
महसुस नगरी
मेरा खुशीका पछाडि
भौँतारिएको रहेछु ।
तिम्रा मनलाई मारेर
म जीवनको कुरुक्षेत्रमा
जितको जश्म मनाई रहेछु ।
तिम्रो परिवारलाई
उझाड गराएर
म आफ्नो परिवार
बसाउने सोचमा रहेछु ।
अहिले महसुस गरेको छु
उबेला तिम्रा आँसुलाई
मजाक सम्झिएर होला
आजकल आफ्नै
जिन्दगी मजाक लागेको छ ।
आज महसुस गरेँ
उबेला जिन्दगीलाई जित्न हिँडेको म
आजकल
आफैसँग हारिरहेछु ।
अहिले आफ्नो अपराध सम्झिँदा
मन भतभत पोलिदिन्छ
तिम्रा आँसु सम्झँदा
मनमा डढेलो लागिदिन्छ
बा,
ढोका खोल त
तिम्रा खुशी फिर्ता ल्याउन
आज यो अपराधी छोरो
आफ्नो अस्तित्व बेचेर आएको छ ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: