सम्झेर पर्खनु
कि बिर्सेर पर्खनु
प्रिय,
म तिमीलाई
नसम्झेर सम्झिरहेछु
म तिमीलाई
नबिर्सेर बिर्सिरहेछु
थाहा छ
तिमी कहिल्यै फर्किदैनौँ
अनि पर्खाईमा
आश थाक्नेछ
अत्यास रम्नेछ
आभाष आत्तिनेछ
मन भत्किनेछ
तिमी नहुनु
अतिदा रातहरुमा
तिम्राे बातहरूको मिठास हुनु
अनकन्टार माझहरुमा
तिम्रो साथको सुवास हुनु
जूनलाई पनि त
घामको न्यानो छाँयाको
तिर्सना होला
सागरलाई पनि त
सगर भेट्ने व्यग्रता होला
लहरे लगाव
बढ्दैबढ्दै जान्छ
सीमाको आयातन
लछारेर
अनन्त हिँड्छ
यादहरुकाे भेलले
संयमताकाे सारा बाँधलाई
फुकाइदिन्छ
खुकुलाे हुनु पनि
उकुसमुकुस हुन्छ
कहिलेकाहीँँ
प्रेम स्वतन्त्र छ
बन्धन त अपेक्षाहरुकाे
गाेष्ठी हाे
तिमी गयाै
आफूमा तिमीलाई जान दिए
तिमीसँगै धेरै कुराहरु गए
अब नितान्त म रहेकाे छु
प्रिय
सायद यहीँ नै हाे प्रेमकाे विधान!
Liked by: