नरेन्द्रराज प्रसाई · Feb २१, २०१८
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत "रामायण"लाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे । तर भानुभक्तकी नातिनी विष्णुमायादेवीबाटै मोतीरामलाई छोप्ने षड्यन्त्रको सुरुवात हुन थाल्यो ।