Bishwa Raj Adhikari · Sep २४, २०१६
प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपाल र भारतको दृष्टिकोण समान छ भन्नु दाहालको ठूलो भूल त हो नै, यो कुरा भन्ने हैसियत कसरी पाए त्यो पनि आफैंमा अर्को प्रश्न बन्न सक्छ। सत्ताको जोड घटाउमा दाहाल उछिट्टिएर प्रधानमन्त्री भएको कुरा स्वयं दाहाललाई पनि थाहा । यसरी सानो दलको नेता भएर नेपाललाई दीर्घकालसम्म असर पार्ने मुद्दाबारे उनले निर्णय लिन सक्छन्?
दाहालको बाह्य स्थिति पनि हेर्ने प्रयास गरौं । नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने छिमेकी भारतले दाहाललाई भरपर्दो नेताको रूपमा लिंदैन तर प्रयोग गर्न सकिने नेताको रूपमा प्रयोग गर्न चुक्दैन पनि । कुनै बेला भारतविरुद्ध नेपाली युवाहरूलाई सुरुङ युद्ध गर्न आह्वान गर्ने र कुनै बेला भारतीय नेताहरूलाई कसेर अँगालो मार्ने दाहालको विचलन र कमजोरीलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरा दिल्ली दरबारलाई राम्ररी थाहा छ । त्यस कारण दाहालले योपटक दिल्ली दरबारमा केपी ओलीभन्दा न्यानो स्वागत पाए ।