Suyog Dhakal · Aug २१, २०१७
राताम्य अर्थात रमाईलो । रातो राम्रो गुलियो मिठो भन्ने नेपाली समाजमा सेतो र नुनिलोका लागि उत्ति स्थान दिइएको पाइन्छ र ? त्यसमाथी तीज, सौभाग्यवतीहरुका लागि एउटा चाड अनि कतिकालागि भनें संझना बिर्सनामा मात्र तीज आउँदछ । जसरी जीवनसाथीको मृत्यू या ऊसंगको बिछोड पछि जीवन एकतमासको रंग उडेको सेतो जस्तै हुन्छ त्यस्तै आँशुको स्वाद पनि त नुनिलो हुन्छ, हैन र ?
यो पनि हेर्नुहोस् : हिन्दुहरुले किन गाईको पूजा गर्दछन्
तीजको मिठास एकठाँउमा छ भनें कतिकालागि तीजको प्रहार अर्को ठाँउमा छ, स्मरण र यादहरुसँगै ।
त्यसैले आज ति दिदिबहीनी, आमा, सानिमा अनि साथीहरुलाई संझना गर्दै यस तीजमा हाम्रो पात्रो सर्मपण
गर्न चाहन्छ आफ्ना भावहरु ।
सौभाग्यको मेला लाउने क्रममा कहिलेकाँही तीजले एकटुक्रा चेलीहरुलाई साथ लान सक्दैन्, संस्कृतीका
ठेकेदारहरुले कहिले बुझ्ने हुन् ती पीडालाई ।बिश्वकै तथ्याकं हेर्ने हो भनें पनि पुरुषको तुलनामा महिलाहरु आफ्ना जीवनसाथीसंग छुटिएपछि पूनः बिवाह गर्ने चलन कम हुन्छ । त्यसमाथी पूर्विय दर्शन अनि सनातन संस्कारमा महिलाहरुको पुरुषप्रतिको प्रेमभाव झल्काउने धेरै चाडहरु छन्, जति उल्लास यी संस्कारहरु श्रिमानश्रिमती साथ हुँदा हुन्छ त्यतिनै पीडादायी हुन्छन् यी चाडहरु बिछोड पछि ।
माईती नहुने या माईतीले निम्तो नदिएका अनि जान नपाएका चेलीहरु, बिदेशमा भएका चेलीहरु, श्रिमान
गुमाएका चेलीहरु , बाढीपहिरोले क्षतीग्रस्त घर अनि माईतका दलिन भित्रका चेलीहरु लगायत अन्य बिभिन्न कारणले तीजको मुलधारमा रमाउन नपाउने चेलीहरुलाई तीज सेतो लाग्न सक्दछ ।
नेपालले गौरवशालीरुपमा सती प्रथा हटायो अनि नारी पुरुष समानताकालागि बिभिन्न नियम अनि कानुनहरु पनि पारित त गर्यो, कार्यान्वयनको कसरत पनि चल्दै छ । तर सामाजिकरुपमा अनि सास्कृतीक धरातलमा जबसम्म एकल महिलाहरु अर्थात बिधवाहरुलाई पनि सौभाग्यको आडमा तीज लगायत अन्य चाडपर्वहरुमा समान स्थान दिइन्न तबसम्म नारी समानता पानीका फोकाहरु झैं छोटो समयको रमाइलो गफ मात्र हुनेछन् ।
बल्लतल्ल केही सामाजिक संस्थाहरुको पहल अनि सरकारी समन्वयमा एकल महिलाले रातो लगाउन पाउने एउटा अभियान आएको छ तथापि समाजले अनि संस्कारले एकल महिलाहरुलाई हेर्ने चलन भनें फिटिक्कै परिवर्तन भएको छैन् ।
मृत्यू ध्रुवसत्य हो भनें नारीजीवनकालमा बिधुवा जीवनलाई किन अपवित्रता र अशुभका रुपमा लिइन्छ ? अनि त्यसमाथी चाडपर्वमा हुने चोटहरु, पतीको मृत्यूलाई हजारौं गुणा पीडाहरु गुणन गरेर पस्कने यो समाजले एकल महिलाहरुको पीडा आखिर कहिले बुझ्ने हो ?
स्मण रहोस् तीजको धरातल नै बिछोडको पृष्ठभूमिमा छ ।
दक्षप्रजापतीको यज्ञमा सतीदेवीले महादेवको अपमान सहन नसकेर पीता दक्षकै अगाडी यज्ञकुण्डमा हामफालेर देहत्याग गर्दछिन् । पत्नी वियोगमा सतीदेवीको जलेको शरीर महादेवले बोकेर ब्रहमाण्ड भ्रमण गर्दछन् । अर्को जन्ममा सतीदेवी पार्वतीको रुपमा जन्म लिएर महादेव पती पाँउ भनी लिएको ब्रत नै तीज हो । यसरी स्कन्दपुराणलाई हामी उदृत गरिरहँदा तीजले त जन्म जन्मान्तरको नातालाई साकार पार्दछ तर यहाँ एउटै जन्ममा छुटिएका हाम्रा चेलीबेटीहरुलाई पनि सौभाग्यको नाममा पर सारिन्छ ।
कसैले हिसाब राखेको छ ? कति पीडा छ त्यो मनमा जब पतीको बियोग सँग घुलिएर आँशुको बग्रेल्ती नुनिला स्वादहरु आँउदछन् । तीजको रौनकमा दोश्रो दर्जाका नागरीक सरह देखा नपर्ने गरि परै बस्न पर्दछ ।
यो सम्पूर्ण कुराहरु त्यतीबेला मात्र संभव छ जब हामीले तीजलाई पतीपत्नीको मिलन अनि असल पतीको
खोजको रुपमा मात्र लिन बन्द गर्दछौं, तीजलाई नारीत्वको मेलाका रुपमा लिइन सक्नु पर्दछ ।पुरुषको जीवन मरणका आधारमा महिलाको सौभाग्य निर्धारण गरेर नारीत्वलाई आसन्न नबनाइयोस्, यस
धर्तीका हरेक नारीहरु आँफैमा सौभाग्यवती छन् ।
बिधुवा र सधुवाको बिभेद हटोस्, भगवान साक्षीराखेर अग्नी अगाडी भरिएका सिँउदाहरु सिँउदो भर्ने मान्छेको मृत्यू हुनेबित्तिकै खाली हुन पर्ने दिन अन्त्य होस् । सबैका नारिहरु राता हुन्, चुरा फुटाएर खाली नारि बस्ने बाध्यता नहोस् ।
यस बर्षको तीज कसैको लागी पनि सेतो नहोस् ।
हाम्रो पात्रोकालागि सुयोग ढकाल