डा. मोदनाथ प्रश्रित · May ८, २०१८
नेपाली भाषासाहित्यकाक्षेत्रमा निरन्तर योगदानका निम्ति समर्पित स्रष्टाहरूलार्इ 'नइ प्रकाशन'ले प्रत्येक वर्ष पुरस्कृत गर्दै अाएको छ । यसै क्रममा २०७४ सालका विभिन्न सम्मानहरू प्रदानका सिलसिलामा साहित्यकार डा. मोदनाथ प्रश्रितज्यू पनि 'नइ सुकीर्ति' पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।
'नइ सुकीर्ति' पुरस्कार २०७४ बाट सम्मानित हुनुभएका डा.मोदनाथ प्रश्रितबाट गरिएको सम्बोधनको पूरा पाठः
म जेल जीवनबाट बाहिरिएपछि धेरै साहित्यकारहरूसँगको सम्पर्कमा रहेँ । त्यही क्रममा साहित्यिक अभियन्ता नरेन्द्रराज प्रसाईको लेखनसँग पनि क्रमशः परिचित हुन थालेँ । खास गरेर त्यस बेलादेखि नै उनले लेख्ने गरेका समाजमा विशेष कर्म गरेर पनि अँध्यारामा रहेका मानिसहरूका जीवनीले मलाई निकै प्रभाव पार्दै आएको थियो । किनभने कथा, कविता लेख्नेहरूको त हाम्रो साहित्यमा बाहुल्य नै छ तर अरूको कथा अर्थात् जीवनी साहित्यले भने अझै मौलाउने अवसर पाएको छैन । यसै फाँटका कामहरूमा अविश्रान्त लेखक नरेन्द्र लागिपरेका छन्, जुन समग्र साहित्यिक संसारका लागि नै उपलब्धिको कुरा हो ।
समयको एउटा विशेष परिस्थितिले साहित्यका दुई प्रतिभालाई जोडिदियो र साहित्यको व्यापक विकास गर्ने ‘नइ प्रकाशन’ जन्म्यो । नइमा विषयवस्तुलाई टप्प टिपेर सहज रूपमा साहित्यिक फूलबारी सजाउने अद्भुत क्षमता छ । नरेन्द्र र इन्दिराको जोडाका कारण एक सबल संस्थाको स्थापना भयो र अन्तर्राष्ट्रिय स्तरको साहित्यिक संस्था सञ्चालन र लेखनमा समेत नइ प्रखर र निरन्तर हुन सकेको देखिन्छ ।
नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई दुवै जना सिर्जनात्मक रूपमा मात्र अग्रसर छन् । उनीहरू संस्थागत रूपमा पनि त्यतिकै सक्रिय छन् । नेपाली धरामा यसरी खटेर काम गर्ने मान्छे मैले विरलै देखेको छु । उनीहरूद्वारा स्थापित ‘नइ प्रकाशन’ र ‘त्रिमूर्ति निकेतन’ आज देशको सामु थप ज्वलन्त उदाहरणका रूपमा देखा परेका छन् ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ सालमा ‘नइ प्रकाशन’को स्थापना भएको हो । त्यसै गरेर २०५९ सालमा ‘त्रिमूर्ति निकेतन’को संस्थागत आरम्भ भएको थियो । नेपाली भाषासंसारप्रतिको साधना हेतु जन्मेका यी गैरराजनैतिक संस्था हुन् र यी दुवैले सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आएका छन् । विभिन्न राजनीतिक विचारकहरू यी दुवै संस्थामा आबद्ध देखिन्छन् तर यी संस्थाका कार्यहरू विशुद्ध साहित्यमा नै केन्द्रित छन् ।
नेपाली साहित्यमा त्रिमूर्तिका रूपमा प्रतिष्ठित कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका धातुमा कुँदिएका पूर्णकदका सालिक निर्माण र प्रतिस्थापन गरी नइकै सक्रियता र नेतृत्वमा त्रिमूर्ति निकेतन स्थापित भयो । साथै ‘नइ प्रकाशन’को अहोरात्रको साहित्यिक तपस्याबाट प्रभावित आत्मिक कुबेरहरूबाट साहित्यिक पुरस्कारको व्यवस्थापनका अनुरोध पनि बढ्दै गयो ।
म पनि त्रिमूर्ति निकेतनका संस्थापकमध्येको एक हुँ । इन्दिरा प्रसाई निकेतनको अध्यक्ष भएपछि मैले एउटा प्रस्ताव राखेँ, ‘तीन महान् पुरुष स्रष्टाको ‘त्रिमूर्ति निकेतन’ जस्तै विशिष्ट नारी स्रष्टाहरूको पनि त्रिमूर्ति सङ्गम बनाउन सके साहित्यिक क्षेत्रले नारी पुरुष समान मर्यादाको अनुभूति गर्नेछ ।’ मेरो उक्त प्रस्तावलाई ध्यानमा राखी ‘त्रिमूर्ति निकेतन’द्वारा मेरो कृति ‘नारी, बन्धन र मुक्ति’मा उल्लिखित गोमा, प्रेमराजेश्वरी र पारिजात तीन नारी स्रष्टाको पूर्णकदका मूर्ति कलाकार ओम खत्रीबाट बनिसकेका छन् । तिनलाई प्रतिष्ठापित गर्ने उपयुक्त स्थलको खोजी भइरहेका कारण अहिले पनि ती मूर्तिहरू कलाकार खत्रीकै कारखानामा उनकै जिम्मामा रहेका छन् । नारी र पुरुष स्रष्टाहरूलाई समान मर्यादा दिने यो कदम अत्यन्त स्वागतयोग्य कुरा हो ।
‘महाकवि देवकोटा शताब्दी महोत्सव’ त्रिमूर्ति निकेतनको अर्को विशेष कार्यक्रम हो । उक्त शताब्दी महोत्सवको अध्यक्षताको जिम्मेवारी मलाई मिलेको थियो । त्यो जिम्मेदारी मेरा निम्ति गौरवको विषय थियो । महोत्सवअन्तर्गत धेरै कार्यक्रमहरू सञ्चालन गर्दै जाँदा दुई वर्षसम्म विभिन्न कार्यक्रमहरूको आयोजना भएको थियो । अन्य कार्यक्रमका अतिरिक्त उक्त महोत्सवको समापनका अवसरमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको संयोजकत्वमा सञ्चालित पाँचदिने ‘नेपाली भाषासाहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’को आयोजना विशेष रहेको थियो । तेह्र देशका प्रतिनिधि साहित्यकारद्वारा कार्यपत्र प्रस्तुत गरिएको सो सम्मेलनका अवसरमा विभिन्न देशका साधकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको पूरा भिडियो यहाँ हेर्नसक्नुहुनेछः