
नेपालमा मुख स्वास्थ्य मुख स्वास्थ्यको अवस्था
नेपालमा मुख स्वास्थ्यको अवस्था ज्यादै नाजुग देखिन्छ । यहाँ १ देखि ९ बर्ष उमेर समुहका करिब ५१.२ प्रतिशतका दुधे दाँत र ५ बर्ष माथिका ३१.५ प्रतिशत जनसंख्याको स्थायी दाँतमा किरा लागेर पनि उपचार गराउँदैनन् । नेपालमा १५ बर्ष माथिका १४.८ प्रतिशत मानिसहरूमा गम्भिर प्रकृतिको गिँजा रोग पाइन्छ । त्यसैगरी, २० बर्ष माथिका करिब १४ प्रतिशत मानिसमा पुरै दाँत झरेर थोते हुने गरेको पाइएको छ । सन् २०२० मा गरिएको एक अध्ययन अनुसार नेपालमा २३६ महिला र ६०८ पुरूष समेत गरी ८४४ जना अर्थात प्रति एक लाख जनसंख्यामध्ये १.७ महिला, ५.५ पुरूष समेत करिब ३.४ जना मानिसमा मुखको क्यान्सर हुने गरेको पाइएको छ । नेपालमा मुख स्वास्थ्यका समस्याहरू आधारभूत विश्व स्वास्थ्य (Universal Health Coverage) का अंश नभएकाले पनि उपचार सर्वसुलभ छैन र भएपनि महंगो छ । गुलियो, सूर्ती, मदिरा, फोहोर र सचेतना तथा आर्थिक सामाजिक पक्षहरूले मुख स्वास्थ्यको अवस्था दिनानुदिन जटिल बन्दै गएको पाइएको छ । यसरी विश्लेषण गर्दा आधाभन्दा बढि जनसंख्या मुख सम्बन्धी समस्याबाट ग्रस्त भएपनि गुणस्तरीय मुख स्वास्थ्य सेवा सुलभ हुन सकेको छैन । नेपालमा सन् २०१८ मा जम्मा २७१८ जना दन्त चिकित्सकहरू सेवारत रहेको हिसाबले झण्डै दश हजार जनसंख्यालाई सालाखाला एक जना दन्तचिकित्सक पर्ने देखिन्छ । नेपालको संविधानले स्वास्थ्यलाइ नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको र नेपाल सरकारले मुख स्वास्थ्य नीतिमा गुणस्तरीय मुख स्वास्थ्य सेवा सुलभ गराउने प्रतिबध्दता व्यक्त गरे पनि अधिकांश सरकारी अस्पतालहरूमा दन्तचिकित्सकहरूको दरबन्दी ज्यादै न्यून भएको र मुख स्वास्थ्यलाइ उपेक्षा गरेकोले सर्वसाधारणहरू गुणस्तरीय मुख स्वास्थ्य सेवाबाट वञ्चित भएर पिडा सहँदै जीवन निर्वाह गर्न वाध्य छन् ।
मुख स्वास्थ्यको महत्वः
मुख हाम्रो शरीरको प्रवेशव्दारको रूपमा रहेको अत्यन्तै महत्वपूर्ण अंग हो। मुखबाट खाने कुरादेखि रोग समेत शरीरका सबै अंगप्रत्यंगमा पुग्ने भएकाले मुखको पुरै शरीरसँग घनिष्ट सम्बन्ध हुन्छ । मानिसको टम्म मिलेका अनार दानाजस्ता दाँत, लालीमायुक्त ओँठ, हँसिलो अनुहार, समग्र मुखाकृति, अनुहार र मन्द मुस्कानले व्यक्तिको सौन्दर्य, व्यक्तित्व प्रदर्शन र विकासमा अहम भूमिका निर्वाह गरेको हुन्छ ।
मुख, दाँत र शारीरिक विकासबीच धनिष्ट सम्बन्ध हुन्छ । मुखले शरीरको स्वस्थ अस्वस्थ अवस्थाको अनुभूति गराउँदछ । जसरी घरको मूल ढोका र त्यसको सरसफाइले घरको सभ्यतालाई झल्काउँछ त्यसैगरी मुख स्वास्थ्यले पुरै शरीरको अवस्थालाई संकेत गर्दछ । मुख र मुटु, मस्तिष्क, मृगौला, कलेजो लगायत शरीरका विभिन्न अंगप्रत्यंगहरू सहित पुरै शरीरको एकापसमा अनोन्याश्रित सम्बन्ध हुन्छ । त्यसैले शरीर स्वस्थ हुन मुख स्वस्थ हुनै पर्छ ।
स्वस्थ दाँत र गिँजाले अप्रत्यक्ष रूपमा रक्तनली, मुटु, फोक्सो, कलेजो, मृगौला, मस्तिष्क, पन्क्रियाज, लगायत सम्पूर्ण अंगप्रत्यंगको स्वास्थ्य अवस्थाको प्रतिविम्ब देखाउँदछ । उदाहरणको लागि दन्त सडन वा गिँजा रोग भएका अधिकांश मानिसमा मुटुको समस्या हुने र मुटुको समस्या भएका मानिसको मुखमा तन्तु परिवर्तनका केही न केही संकेत देखा पर्ने गर्दछ ।
मुखमा भएका जिभ्रो, दाँत, गिँजा, तालु, तल्कुरे, टन्सिल लगायतका महत्वपूर्ण अंगप्रत्यंगहरू सहित मुख स्वस्थ भएमात्र शरीर स्वस्थ हुन सक्दछ । मुखलाई स्वस्थ राख्न सकेमा निरोगी भएर दीर्घायू जीवन जिउन सकिन्छ । मुख स्वस्थ भएन भने शरीरका अन्य अंग र पुरै शरीर अस्वस्थ हुन्छ । मुख स्वास्थ्यको ख्याल नगर्दा र विशेषगरी दाँत सफा नराख्दा दाँत तथा गिँजा र मुखमा समस्या देखिनुका साथै हृदयघात, मस्तिष्कघात, क्यान्सर जस्ता गम्भिर घातक अस्वस्थकर अवस्थाको श्रृजना भएर अल्पायुमै मृत्युवरण गर्नु पर्ने हुन सक्छ ।
मुख स्वास्थ्यका जोखिम पक्षहरूः
१. सरसफाइमा हेलचेक्य्राइः
(१) मुख शरीरको अँगाडि रहेको, कुनै समस्या अएमा अफैले पनि सहजै देख्न र सफा गर्न सकिने भएर पनि धेरै मानिसले मुखको सरसफाइलाई उपेक्षा गरेको पाइन्छ । कुनै दाँतमा केही भएमा पनि ‘एउटा दाँत बिग्रिएर के भयो त अरू छँदै छ नी?’ भन्ने अचेत मानसिकता व्याप्त छ ।
(२) मानिसले मुखको महत्व नबुझेर मुटु, मस्तिष्क जस्ता अन्य रोगको तुलनामा मुखको सरसफाइ र दाँतको नियमित ब्रस गर्ने कामलाई त्यति वास्ता गर्दैनन् ।
(३) धेरै मानिसले मुखमा कुनै समस्या अएमा त्यसलाई त्यसै रहन दिने, वेवास्ता गर्ने, दुखाइ सहने, चिकित्सककहाँ नजाने, परम्परागत अन्धविश्वासमा लाग्ने र अन्त्यमा केहिसिप नचलेपछि मात्र उपचार गराउने गर्दछन् । यस्तो हेलचेक्य्राइँ गर्नाले सामान्य अस्वस्थकर अवस्था पनि क्यान्सर जस्तो ज्यानै लिने र उपचार हुन नसक्ने अवस्थामा परिणत हुन सक्दछ ।
२. हानीकारक खानपानः
(१) सुर्ती सेवनः सुर्तीजन्य पदार्थ, खैनी, गुट्खा, बिँडी, चुरोट, सिगार, सुल्फा, तमाखु, गाँजा, चरेस लगायतका लत लाग्ने धुवाँसहित वा धुवाँरहीत सूर्ती तथा सूर्तीजन्य पदार्थहरू मुख र दाँतका लागि क्यान्सर सम्म गर्न सक्ने हानिकारक सिध्द भएका छन् ।
(२) रक्सी र अल्कोहलयुक्त मदिराले मुखको स्वास्थ्यलाई हानि गर्नुका साथै शरीरका अन्य भागलाइ पनि क्षति पुराउँदछन् ।
(३) ठण्डा पेय पदार्थः फ्रिजमा राखिएका बोत्तल वा केनमा पाइने कोकाकोला, फेन्टा, मिरिन्डा, पेप्सी, ड्यू लगायतका ठण्डा पेय पेय पदार्थहरूको बारम्बार सेवन गर्नाले दाँत छिटो खिइने, बिग्रने, हल्लने र झर्ने जोखिम निम्त्याउँदछन् ।
(४) हानीकारक खानेकुराः ज्यादै टाँसिने, चबाउनै नसकिने साह्रो, अत्यन्त चिसो वा तातो र गुलिया तथा अमिलो चकलेट लगायतका खानेकुरा पनि दाँतका लागि हानिकारक हुन्छन्।
कसरी हुन्छ रोगको उत्पत्तिः
नियमित रूपमा मुख वा दाँत नमाझ्दा दाँतमा अड्किएको खानेकुरामा मुखमा भएका जिवाणु (ब्याक्टेरिया) को बृध्दि हुने, ब्याक्टेरियाले सो खानेकुरामा अम्लीय पदार्थ उत्पादन गर्ने र त्यसले दाँतको इनामेल खिइयाएर दाँत कुहिँदै जाने गर्दछ । फोहोर मुख तथा दाँतमा हुने रोग सहजै नियन्त्रण गर्न सकिदैन । मुख स्वस्थ नभए शरीर पनि स्वस्थ राख्न सकिदैन ।
मुख वा दाँतको सरसफाइमा लापर्वाही र अस्वस्थकर खानपानले गर्दा आफैले सेवन गरेका हानीकारक खानेकुरामा भएको रसायनले दाँतको बाहिरी भागमा भएको सेतो कडा भाग (enamel) खिइन्छ ।
जुनसुकै कारणबाट भएपनि इनामेल खिइएको दाँत सजिलैसंग छिटोछिटो धेरै खिइने, खाना चबाउन नसक्ने, सिरिंगसिरिंग गर्ने, कालो हुँदै जाने (किराले खाने), दुख्ने, सुन्निने, अन्य सुक्ष्मजीवको संक्रमण हुने, गिँजामा पिप वा रगत वा दुबै बग्ने, हल्लने, झर्ने, मुख गनाउने, दाँत अडिने हाड कुहिने र मुखको क्यान्सर हुने लगायतका धेरै समस्या देखिन्छन् ।
गिँजा, जिभ्रो, टन्सिल लगायत मुखको भित्रि भागमा बृध्दि हुने ब्याक्टेरियाहरू मुटु लगायत शरीरका विभिन्न अंगहरूमा संक्रमण गरेर ज्यान नै जाने मुटु रोग, मधुमेह, क्यान्सर लगायतका गम्भिर रोग उत्पन्न गर्ने वा भएको समस्या थप जटिल पार्ने गर्दछन् ।
मुख बाहेक शरीरका अन्य अंगहरूमा संक्रमण गर्ने कतिपय रोगले मुखमा रक्तश्राव, राता वा सेवा दाग वा यस्तै विभिन्न प्रकारका तन्तु परिवर्तन वा खत देखाउने हुनाले यी खतको आधारमा रोग निदान गर्न सहयोग पुग्दछ ।
मुख स्वास्थ्यका जटिलताः
दन्तसडनबाट सेलुलाईटिस भएमा दिमागको क्याभर्नस साइनसमा रक्त सञ्चार गर्ने नली थुनिने (थ्रोम्बोसिस), सुन्निने र स्वासनली थिचिएर मृत्यु समेत हुन सक्दछ ।
हानीकारक खानेकुरा सेवन गर्ने, नियमित मुख वा दाँत सफा नगर्ने, नमिलेका वा धारीला दाँत, घाउ, खटिरा, दाँतमा फोहर जम्ने (टारटार) गरेमा क्यान्सर समेत हुन सक्दछ ।
मुख वा दाँत बिग्रिएमा मुखबाट सास फेर्ने, अनुहार बिग्रिने, दाँतको विकास र बनोट बिग्रने, रगतमा अक्सिजन नपुग्ने, रक्तचाप र मुटु रोग हुन सक्दछ ।
गिँजा वा मुखका रोगीको तुलनात्मक रूपमा स्वासप्रस्वास, मुटु, वाथ ज्वरो, अनियन्त्रित मधुमेह, कमजोर हाड, हृदयघात, मस्तिष्कघात, अधिक जोखिम रहन्छ ।
गर्भवती महिलामा अवधि नपुग्दै शारीरिक र मानसिक रूपमा कमजोर बच्चा जन्मन्छ ।
मुख र मुटुको अनोन्याश्रित सम्बन्ध हुन्छ । गिँजा सुन्निने र रातो हुने (सि अर पि) को सिधै मुटुमा असर पर्ने, गिँजाको सुजनबाट सोझै मुटुमा सक्रमण हुने र सूर्तीले मुटुको रक्तनली (धमनी) बन्द गरिदिएर हृदयघात गराउन सक्ने हुनाले मुखको लापर्वाहीले मुटुमा चुनौती हुन्छ । गिँजाको रोग भए मुटु रोग लाग्ने मुटुको रोग भए गिँजामा असर देखिन्छ ।
मुटुसम्बन्धी रोग तथा उच्च रक्तचापः
खानाः बोसो, चिनिले धमनी बन्द हुँदै जान्छ र एथेरोस्क्लेरोसिस हुन्छ ।
मुटु साँघुरिने (कन्जेस्टिभ हर्ट फेलुर) आवश्क रगत नपुगेर खुट्रटा र फोक्सो सुन्निन्छ
हृदयघातः मुटुका रक्तनलि अबरूध्द भएपछि रक्त सन्चार बन्द हुँदा हृदयघात हुन्छ ।
स्ट्रोकः मस्तिष्कका रक्त नली बन्द वा फुट्रने हाँस्न नसक्ने, हात उचाल्न नसक्ने,
वाथ ज्वरोः बालबालिकामा असर गर्ने वाथ ज्वरोले मुटुमा पनि संक्रमण गर्छ ।
जन्मजातः मुटुमा प्वाल पर्ने र अन्य विकृतिहरू ।
मुख स्वस्थ राख्ने उपायः
मुख स्वस्थ राख्नको लागि मुखको नियमित सरसफाइ, मञ्जन, खानपान अन्य निम्नानुसार सावधानी अपनाउननु पर्दछ ।
१. मुखको सरसफाइः
(१) बिहानको खाना सेवन पश्चात चार मिनेट तथा बेलुका सुत्नुअघि चार मिनेट गरी दिनमा आठ मिनेट समय निकालेर मुख र दाँतको सफाइ गर्ने हो भने दाँत वा गिँजाका चरमा अड्किएका खानेकुराका अंश बाहिर निस्कन्छन्, मुख सफा हुन्छ, दूर्गन्ध आउँदैन र मुखसम्बन्धी ९० प्रतिशत रोगबाट छुटकारा पाउन सकिन्छ।
(२) टुथ ब्रस र टुथ पेष्टः दाँत सफाइका लागि नरम ब्रस र फ्लोराइड भएको टुथपेस्ट आवश्यक पर्छ। फ्लुराइडयुक्त (१००० देखि १५०० पि पि यम) दन्त मन्जन प्रयोग गर्नु स्वास्थ्यबर्धक मानिएको छ ।
२. अहार बिहारः
(१) मुख वा दाँत स्वस्थ राख्न रेसादार हरियो सागसब्जी, दुग्धजन्य पदार्थ र सन्तुलित आहार सेवन गर्नुपर्छ।
(२) सूर्ती तथा सूर्ती, पान, चुना, गुट्खा, सुपारी, खैनी, जर्दा, अदि सूर्तीजन्य पदार्थ सेवन नगर्ने। त्यसैगरी, मदिरा, डण्डा पेय पदार्थ सेवन नगर्ने ।
३. चोटपटकबाट जोगिने (हेलमेट लगाउने) ।
४. नियमित दन्त चिकित्सकलाई जँचाउने ।
सारांशः
मुख स्वस्थ नभएसम्म शरीर स्वस्थ हुन सक्दैन । मुख तथा दाँतको नियमित सरसफाइ र अलि ध्यान दिनाले धेरै अस्वस्थकर अवस्थाबाट मुक्त भएर स्वस्थ जीवन जीउन सकिन्छ । मुख स्वास्थ्यमा लापर्वाही गर्नाले सामान्य ठानीएका समस्याहरूले पछि गएर उपचार गर्न नसकिने हृदयघात, मस्तिष्कघात, क्यान्सर जस्ता जटिल र बिकराल रूप लिएर अकालमा ज्यान जान सक्दछ ।
डा. सिमा घिमिरे, डा. प्रतिक्षा घिमिरे, डा. आदर्श खनाल र डा. नारायण घिमिरे
सुमेन डेण्टल होम प्रा.लि., बसुन्धरा, काठमाण्डु