
हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।
कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।
कोरोना भाइरस रोगको मुख्य लक्षणहरू
-ज्वरो आउने (१००.४°F भन्दा माथि)
-खोकी लाग्ने
-श्वाश फेर्न गाह्रो हुने
यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने?
-ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।
-खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।
-भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।
-बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
-कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।
प्रायः सोधिने प्रश्नहरू
नोभल कोरोना भाइरस भनेको के हो?
यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।
के मानिसमा जनावरहरूबाट नोभल कोरोना भाइरस संक्रमित हुन सक्दछ?
नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै बैज्ञानिक आधार हाल छैन।
के नोभल कोरोना भाइरस र SARS एउटै हुन्?
सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन्। महत्त्वपूर्ण कुरा, नोभल कोरोना भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टी भएको छैन।
मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म वैज्ञानिक तवरले पुष्टी भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।
के यो एक व्यक्त्तिबाट अर्को व्यक्त्ति सर्न सक्दछ?
अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरू बिरामी भएको पाइएकोले, मानव-मानव बीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । साथै, परिवारका सदस्यहरू एकै स्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि रहेको छ ।
यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ?
सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापि रुघा, खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।
के कोरोना भाइरसको लागि उपचार छ?
नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन ।
कोरोनाभाइरस रोग प्रभावित स्थानबाट यात्रा गरी फर्किनु भएका यात्रुहरूले घर वा बासस्थानमा फर्केको दिनदेखि १४ दिन सम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापहरू
परिवारका सदस्यहरूबाट आफूलाई अलगै राख्ने
घर परिवारका अन्य सदस्यहरू भन्दा छुट्टै कोठामा बस्ने र उपलब्ध भए सम्म छुट्टै शौचालय वा स्नानगृहको प्रयोग गर्ने ।
घरायसी सामान एक अर्कासँग नसाट्ने
खाना खाएको भाँडा, गिलास, कप, काँटा-चम्चा, रूमाल, तन्ना जस्ता सामग्रीहरू घरका अन्य सदस्यहरूसँग साटफेर नगर्ने । आफूले प्रयोग गरेका सबै सामग्रीहरू साबुन पानीले राम्ररी सफा गर्ने ।
नियमित रूपमा हात धुने
नियमित रूपमा साबुनपानीले मिचिमिची २० सेकेण्ड सम्म हात धुने । साबुन पानी उपलब्ध नभएमा वा हात धेरै फोहोर नभएको भएमा अल्कोहल भएको स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । फोहोर हातले आफ्नो आँखा, नाक वा मुख नछुने ।
खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख ढाक्ने
खोक्दा वा हाछ्युँ गर्दा आफ्नो नाक र मुख ढाक्ने । त्यसपछि तुरून्तै कम्तिमा पनि २० सेकेण्ड सम्म साबुनपानीले मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
आफूलाई देखा परेका लक्षणहरूको ख्याल गर्ने
यदि १४ दिन भित्र रुघाखोकी लाग्ने, घाँटी दुख्ने, १००.४ डिग्री Fahrenheit भन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो महसुस हुने जस्ता लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । यस्ता लक्षणहरू देखिएका बिरामीहरूले लगातार रूपमा मास्कको प्रयोग गर्ने । कोरोना भाइरस फैलिएको देशबाट आएको जानकारी स्वास्थ्यकर्मीलाई दिने (यसले अन्य व्यक्त्तिलाई कोरोना भाइरस रोग सर्नबाट बचाउन स्वास्थ्यकर्मीलाई सहयोग गर्दछ)
श्रोत : युनिसेफ