Santosh Devkota · May १६, २०१७
२० वर्षको अन्तरालपछि स्थानीय स्तरमा सरकारको उपस्थितिको प्रतिक यो स्थानीय निर्वाचन २०७४ ले स्थानीय स्तरमा भग्नावशेष झै कमजोर बनेका तहलार्इ सक्रिय बनाउनकालागि जनताले रोजेका जनप्रतिनिधिहरूको मतगणनाको कार्य जारी रहेको छ ।
यस पटकको निर्वाचनले मतदातालार्इ नयाँ राजनीतिक अभ्यासको समेत स्वाद चखायो, त्यो हो "राजनीतिक गठबन्धन" । दुर्इ दल मिलेर जनतासामू मतमार्फत् एउटै भोट माग्ने यो अभ्यासमा नेपाली राजनीतिको उतिसाह्रो अनुभव छैन । एतिहासिक रूपमा घोषणा भएका केहि गठबन्धन राजनीतिक चिन्तनको रूपमा भने अचम्मै मान्नुपर्छ, काँग्रेस - माअोवादी केन्द्रको गठबन्धन, नयाँशक्ति - संघिय समाजवादी फोरम नेपाल तथा अन्त्यमा नेकपा एमाले - राप्रपा नेपाल गठबन्धन । एकातर्फ राजतन्त्र तथा हिन्दू एजेण्डा बोकेको कमल थापा नेतृत्वको राप्रपा अर्कोतर्फ प्रजातान्त्रिक अभ्यासमा कम्यूनिष्ट चिन्तनबिचको गठबन्धनलार्इ नेपाली जनताले अनुभव लिने माैका प्राप्त गरे ।
तर रमाइलो के भने काठमाण्डाै महानगरपालिकामा उप-मेयरमा राप्रपाले प्राप्त गरेको मत सदर भन्दा पनि बदर धेरै भएकाछन् । जसमा राप्रपाले कामनपावासीबाट प्राप्त गरेको कूल २०८ मतमा बदर मतको संख्या २१३ रहेको छ । काठमाण्डाैको नन्दीकेशरी तथा हिटिपोखरी केन्द्रका मतगणनाका क्रममा यो अन्तर भेटिएको हो जहाँ मेयरमा प्राप्त १०६ मत बदर भएका छन् भने उप-मेयरमा २१३ मत बदर भएकाछन् ।