Hamro Patro Guru Poornima | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

गुरु पूर्णिमा | व्यास जयन्ती




गुरु पूर्णिमा विशेष अडियो सामग्री

ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मामृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ।।


अर्थात्
‘हे भगवान, मलाई सदैव सत्यलाई आत्मसात् गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख । सदैव ज्ञान र चेतनाको उज्यालो देऊ । त्यस दिशाको मार्ग देखाऊ । मलाई यस्तो ज्ञान देऊ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।’
उपनिषद्बाट साभार उपरोक्त मन्त्रको अर्थले ज्ञानरूपी उज्यालो र त्यसको महत्व दर्शाउँछ । गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।

यो संसारमा शान्ति होस् । आदि–दैविक शान्ति होस्, आदि–भौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।

हरेक प्राणीको अन्तिम सत्य अमरत्व र उज्यालो हो । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायका भएपनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरु तत्वको ठूलो महत्व छ । संसारमा सायद ज्ञान मात्र यस्तो विषय हो, जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।

आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ । यो दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यो दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ ।

सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रूपमा लिने गर्छन् ।

चाहे मुस्लिमहरूको मदरसामा तपाईँलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक–शिक्षिकाहरू किन नहुन् ? उनीहरूले सिकाएका र दिक्षाएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौँ ।

भनिन्छ, असल गुरुको प्राप्ति या छनौट अधिकांश समस्या र दुविधाहरूको निरोध हो । तथापि आधुनिक युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधिको यो युगमा पक्कै पनि हामीले ज्ञान प्राप्तिका लागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर र त्यसैलाई गुरु थापेर सिक्नुपर्ने जरूरत छ, न त गुरु दक्षिणाका रूपमा औँला काटेर बलिदान दिनुपर्छ । विश्वस्तरका शिक्षाका लागि संस्थागत रूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरूले पनि हामीलाई गुरुरूपी शिक्षा दिइरहेका हुन्छन् ।

औषधिको तथ्य र असरदेखि चन्द्रमाका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहीँका श्रोतबाट अध्ययन गर्ने यो पुस्ताहरूलाई गुरु–पूर्णिमाले केही फरक अनुभव दिन सक्छ ।

तर संसार जहाँ नै पुगे पनि गुरु–तत्वले स्वरूप परिवर्तन गरेको हो, शिक्षा आकाशबाट बर्सिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरू सबै जना गुरु हुन्, गुरु तत्व हुन् । संसार जत्तिकै आधुनिक र ज्ञानहरू जत्तिकै सहज र ब्यवसायिक रूपमा उपलब्ध भए पनि संसारमा गुरु तत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरु तत्वको त्यही महत्वलाई आत्मसात् गरेर हुन सक्छ, सनातन संस्कार–संस्कृतिमा वर्षपछिको वर्ष र युगपछिका युगहरूमा पनि गुरुहरूलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ ।

आउँदा पुस्ताहरूलाई पनि गुरु, ज्ञान र गुरु तत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरूलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ ।

गुरुमार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैँ अघि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो, गुरु पूर्णिमा ।

‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’

अर्थात्,
‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्म । यस्ता गुरुलाई म नमस्कार गर्दछु ।’
एकफेर सोचौँ न, हामीलाई जिन्दगीले कति धेरै कुराहरू सिकाएको छ । जस्तै हामी सही र गलतमा फरक छुट्याउन सक्छौँ । वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौँ । तपाई हामीले कुनै बखत सही कुरा र पथ छान्यौ या छानेनौँ भनेपनि हामीले आफ्ना पाइलाहरू कतातिर जाँदैछ भनी अरु कसैलाई सोध्नै पर्दैन । हृदयको स्पन्दनले आफैँ हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ ।

गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरु तत्वले आवाज निकाल्छ, नाई ! त्यसो नगर । त्यो गलत हो भन्ने आवाज सुनेपछि हामी कतिले पाइला रोक्छौँ, त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरु तत्व रहेको छ ।

सत्यलाई आत्मसात् गर्नसके गुरु तत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केही न केही सिकाएरै जान्छ । तसर्थ, हरेक पाठलाई आत्मसात् गर्न सके गुरु पूर्णिमाको र गुरु तत्वको सही उपयोग हुनेछ ।आफूलाई पढाउने सर, मिस, दाई, दिदी लगायत सबैलाई एकफेर नमन गरौँ । सम्झना गरौँ । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरु पूर्णिमाको शुभकामना !

व्यास जयन्ती
गुरु पूर्णिमा गुरु व्यासको पनि जन्म दिन पर्छ । आज थोरै यी अष्ट चिरन्जिवीमध्येका एक चिरन्जिवी, अमर अनि गुरुका गुरु व्यासका विषयमा कुरा गरौं ।

गुरु व्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जीवन्त पात्र पनि हुन् । महाभारतका भीष्म र व्यास नाताले सौतेनी दाजुभाई हुन् । राजा शन्तनुले सत्यवतीलाई विवाह गर्छन्, सत्यवतीका पिता माझी हुन्छन् ।

राजाले ससुरालाई सत्यवतीका तर्फबाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्छन् । यसअघि शन्तनुले पुत्र भीष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भीष्मले आफ्नो पिताको वाचा थाहा पाएर पितालाई वचनमा अडिग रहन आफू स्वयंले राजकुमारबाट हटेर सिंहासनमा कुनै दाबी नगर्ने घोषणा गरेका हुन् ।

गुरु व्यास सत्यवतीका विवाह अघिका पुत्र हुन् । यिनका पिता परासर हुन् । परासर र सत्यवतीको अध्यात्मिक समागमले व्यासको जन्म भयो । आफ्नी जन्म दिने माताको खोजीका क्रममा व्यास हस्तीनापुर दरबारसम्म पुग्छन् । यिनै व्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन् । कथेका हुन् । सबै वेद, श्रीमद् भागवत अनि १८ पुराणका सर्जक व्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ ।

व्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरू र नाम छुट्याएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।

हरेकको मनमा हरि रहून्, हरेकको मनले व्यास पढा्ेस् ।
शुभकामना

हाम्रो पात्रोका लागि सुयोग ढकालद्वारा तयार पारिएको आलेख



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.