प्रत्येक वर्षको भाद्र महिनाको कृष्ण पक्षको एघारौं दिनलाई "अजा एकादशी" भन्ने गरिन्छ । यस दिनलाई नेपाल, भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरूले व्रत तथा पर्वको रुपमा मनाउने गर्दछन् ।
धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रन्द्रले आफ्नो हराएको परिवार र साम्राज्य फिर्ता पाएका थिए। प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन त्यागि आफु लगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनाएका थिए। सत्यवादी हरिशचन्द्रले बर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले। त्यसबेला उनको चिन्ता दुर हुनेगरी उनको भेट एकजना गौतम ऋषिसंग भयो। हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बस्न भने। राजाले गौतम ऋषिले भने अनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे, नभन्दै त्यस व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ति राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएका हुन्। त्यहि समय देखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको छ।
अजा एकादशी चतुर्मास अन्तर्गतको तेस्रो एकादशी हो । यस एकादशीका दिन अन्य एकादशीसरह व्रतको नियम र विधिलाई पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गर्नुपर्छ । भगवान् श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो जहाँ भगवान् विष्णु स्वयम्ले आफ्नो दैवीशक्तिसहित उपस्थित भई यज्ञयागादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन्। यो दिन शुद्द चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दु: खबाट उद्धार दिन्छन र यस एकादशीको कथा श्रवणमात्रले अश्वमेध यज्ञको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ।
अजा एकादशीको शुभकामना ।