ब्लग - साहित्यकथा तथा उपन्यासहरू
Raju Pudasaini · Aug १३, २०१६
प्रिय जुलिया ! तिमीले आखाँ देख्न सक्नेछौ एक दिन । मलाइ परमेश्वरमाथी भरोसा छ । म मेरो अन्तिम समयसम्म पनि उहाँसंग तिम्रोलागि प्रार्थना गर्नेछु। मर्ने बेलाको अन्तिम इच्छा त परमेश्वरले अवश्य पुरा गर्दिनेछन् । मैले तिमीलाइ एकदमै मन पराउँथे । म परमेश्वर र आफुलाइ जति माया गर्छु त्यो भन्दा पनि बढि त तिमीलाइ गर्छु। मलाइ थाहा छ तिमीले पनि मलार्इ असाध्यै माया गर्छौ। जुलिया! मलाइ विश्वास छ मेरो यो पत्र तिमी आफ्नै आखाँले पढ्नेछौ ।
राज्यमा अशान्ती मच्चिरहेको समय थियो त्यो, सेनामा दिनहूँ भर्ति खुल्थे । सबै युवालाइ सैनिक बनाएर युद्धमा पठाइन्थो । क्लाउडिएसले कसैलार्इपनि बिहे गर्नबाट प्रतिबन्ध लगाएको थियो । बिहा गरेपछि परिवार, श्रीमती र सन्तानको मायाजालमा फँसेर आफ्नो सैनिकहरु युद्धमा जान नमान्ने र मर्न-मार्न नसक्ने हुन्छन् भनेर उसले कडाइकासाथ केटा -केटी भेट्न पनि नदिने उर्दि जारी गरेको थियो । उसको यो आज्ञा प्रजाहरुलाइ मन परेको थिएन र भ्यालेन्टिनले त झन उसको यो उर्दीको विरोध मात्रै गरेन बरू निकै युवा-युवति को परमेश्वर साक्षी राखेर विवाह गराइदिएको थियो । यो कुरा कसैले क्लाउडिएससम्म पुर्याइदियो र उसलाइ पक्राउ गरेर झ्यालखानामा कैद गरिएको थियो ।